Sunday, December 6, 2020

बिमस्टेक (BIMSTEC) सम्बन्धी संक्षिप्त जानकारी

बिमस्टेक (BIMSTEC)

बिमस्टेकको पूरा रुप बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (Bay of Bengal Initiative for Multi‑Sectoral Technical and Economic Cooperation) हो । यसमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड गरी सात सदस्य रहेका छन् । बिमस्टेकको स्थापना ६ जुन, १९९७ मा भएको थियो । यसको मुख्य कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । यो दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका सात देशको उप–क्षेत्रीय समूह हो । जुन देशहरु बंगालको खाडीको तटीय तथा आसन्न क्षेत्रमा रहेका छन् । यो समूह दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियामा बसोबास गर्ने झण्डै साढे एक अर्ब मानिसको प्रतिनिधिमूलक संस्था हो । यसले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका देशबिच सम्बन्ध स्थापनाका लागि पुलको रुपमा काम गर्दै आएको छ । म्यानमार र थाइल्याण्ड यो समूहमा रहेका दक्षिण पूर्वी एसियाली देश हुन् । नेपालसहित बाँकी देश दक्षिण एसियाली हुन् । सार्कमा रहेका तर बिमस्टेकमा नरहेका देश पाकिस्तान र अफगानिस्तान हुन् ।

बिमस्टेकको स्थापना

बंगलादेश, भारत, श्रीलंका र थाइल्यान्डको अग्रसरतामा गठन भएको यसको प्रारम्भिक नाम BISTEC थियो । आरम्भमा यिनै चार सदस्य मुलुकबिच पारस्परिक आर्थिक सहयोगको उद्देश्यले गठन भएको कारण यसको नाम सदस्य मुलुकको नामको पहिलो अक्षरबाट BIST र त्यसमा आर्थिक सहयोग जनाउने EC (Econimic Corporation) थपी BISTEC राखिएकोमा म्यानमारले सन् १९९७ को डिसेम्बरमा भएको मन्त्रीस्तरीय विशेष बैठकमार्फत संगठनमा प्रवेश गरेपछि बिमस्टेक (BIMSTEC) भएको थियो । ढाकामा डिसेम्बर १९९८ मा सम्पन्न दोस्रो मन्त्रिस्तरीय बैठकबाट पर्यवेक्षकको हैसियत प्राप्त गरेको नेपालसँगै भुटानले सन् २००४ मा सदस्यता पाएपछि यसको सदस्य संख्या ७ पुगेको हो र यसको नाम बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास भनी बिमस्टेक नै भन्न सुरु गरिएको हो । बिमस्टेक पछिल्लो समय आबद्ध सदस्य देशहरु बिच विषयगत सहयोग अगाडि बढाउने प्रयासको साझा मञ्च बन्न पुगेको छ ।

बिमस्टेकको कार्य क्षेत्र

सदस्य राष्ट्रहरुको बिचमा प्राविधिक एवम् आर्थिक सहायता आदानप्रदान गर्ने उद्देश्यले स्थापित बिमस्टेकका सदस्य राष्ट्रहरु बिच विशेष गरी व्यापार, प्रविधि, ऊर्जा, पर्यटन, परिवहन र माछा उद्योगसँग सम्बन्धित ६ क्षेत्रमा सहयोग आदानप्रदान हुने गरेको थियो । सन् २००८ मा यस सहयोग क्षेत्रमा कृषि, जनस्वास्थ्य, गरिबी उन्मुलन, अतंकवादको सामना, पर्यावरण, संस्कृति, जलवायु परिवर्तन र सम्पर्क विस्तार गरी आठ वटा विषय थप गरिएको थियो । यसप्रकार बिमस्टेकका सहयोगका १४ वटा क्षेत्र निर्धारण भएका थिए । नेपालले बिमस्टेकमा गरिबी निवारणसम्बन्धी विषयको नेतृत्व गरेको छ । यसमा भारतले ४, थाइल्याण्डले ३, बंगलादेश र म्यान्मारले २/२, श्रीलंका, भुटान र नेपालले १/१ वटा क्षेत्र वा मुद्दाको नेतृत्व गरेका छन् । हाल ब्लु इकोनोमी र माउन्टेन इकोनोमी गरी २ वटा क्षेत्र थप भएका पाइन्छन् ।

बिमस्टेकको शिखर सम्मेलन २/२ वर्षमा हुनुपर्नेमा हालसम्म समयमा भएको पाइँदैन । बिमस्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो। दोस्रो भारतमा सन् २००८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन ६ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो । सन् २०१४ देखि बिमस्टेकको अध्यक्षता नेपालले गर्दै आएको थियो । अध्यक्ष मुलुकले सम्मेलन आयोजना गर्ने नीतिअनुरुप चौथो पटकको बिमस्टेक सम्मेलन सन् २०१८ अगष्ट ३० र ३१ अर्थात २०७५ भदौ १४ र १५ गते नेपालमा सम्पन्न भयो । यो सम्मेलनमा पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर छलफल गरिएको थियो । ती पाँच क्षेत्रहरु यसप्रकार रहेका छन् ।

सञ्जाल विस्तार

बिमस्टेकका सदस्य राष्ट्रहरुको बिचमा संजाल विस्तार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको छ । बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड सदस्य रहेका छन् । यी देशहरु बिचमा सडक तथा हवाई लगायतका माध्यमबाट कनेक्टिभीटी बढाउने विषयमा सम्मेलन केन्द्रित रहेको छ ।

गरिबी निवारण

गरिबी निवारणको विषयमा सम्मेलनमा छलफल गरिएको छ । अहिले बिमस्टेक सदस्य राष्ट्रमा बसोबास गर्ने १ अर्ब ६८ करोड जनसंख्यामध्ये झन्डै ४० करोड गरिबीको रेखामुनि रहेका छन् । नेपालमा पनि झन्डै २५ प्रतिशत जनता गरिबीको रेखामुनी छन् ।

व्यापार एवम् लगानी विस्तार

सदस्य राष्ट्रहरुको बिचमा व्यापार एवम् लगानी विस्तारको विषयमा छलफल गर्नु पनि यस बिमस्टेक सम्मेलनको उद्देश्य रहेको थियो ।

जलवायु परिवर्तन

पछिल्लो समय विकराल बन्दै गएको जलवायु परिवर्तन सम्बन्धी समस्याको छलफल पनि सम्मेलनमा गरिएको छ । जलवायु परिवर्तनसम्बन्धी एजेन्डालाई दिगोपनासँग जोडेर छलफल गरिएको थियो ।

जलविद्युत्

ऊर्जा क्षेत्र अन्तर्गत सबै मुलुकबिच प्रसारण लाइन विस्तार गरी व्यापार खुला गर्ने विषयलाई यसपटक सम्मेलनको एजेण्डामा समावेश गरिएको छ ।

बिमस्टेकको चौथो शिखर सम्मेलनको घोषणापत्र

Ø  बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिने
Ø  बिमस्टेक व्यावसायिक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुनः सुचारु गर्ने ।
Ø  अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबिच कानुनी सहायता सम्बन्धी सम्झौताको लागि आव्हान गर्ने।
Ø  बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन् २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।
Ø  बिमस्टेक विकास कोषको स्थापना गर्ने । कोषमा सदस्य राष्ट्रहरुबाट रकम जुटाईने ।
Ø  बिमस्टेकको सचिवालय चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने ।
Ø  स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने । मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।
Ø  बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने । एक सदस्य राष्ट्र एक निर्देशक गरी  सात जना निर्देशक नियुक्त गर्ने ।
Ø  अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग र हवाईमार्ग विस्तार तथा आधुनिकीकरण गर्ने ।
Ø  यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वयन गरिने ।
Ø  यस क्षेत्रका जनताको इन्टरनेट र मोबाइल पहुँचका लागि सेवा सस्तो बनाउन एक कार्यसमूह बनाउने ।
Ø  आतंकवाद र संगठित अपराध विरुद्धको सहकार्यलाई अभिवृद्धि गर्ने ।
Ø  जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।
Ø  बिमस्टेक भित्र ऊर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।
Ø  साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धित उद्योगहरु स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।
Ø  कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।
Ø  जनता जनता बिचको सम्बन्धलाई थप उचाइमा पु-याउन संयन्त्रहरु निर्माण गर्ने ।
Ø  बिमस्टेकको अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गर्ने ।

निजामती सेवाप्रतिको जनअपेक्षा

निजामती सेवाप्रति जनताको अपेक्षाको कुरो गर्दा म विशुद्द जनता र राष्ट्रसेवकलाई मात्रै जोडेर हेर्दिन । त्यतिलाई मात्र जोडेर हेरियो भने त्यसले ...