सदाचार र नैतिकता वस्तुतः फरक फरक विषय भए पनि यिनको एउटै आशय छ- लोक कल्याणकारी
आचरणको पालना गर्नु । यिनलाई विभिन्न परिभाषा र उदाहरणबाट प्रष्ट पार्न सकिन्छ
तथापि भाव एउटै आउँछ- लोभलालच, व्यक्तिगत स्वार्थ, छलकपट वा जालसाजरहित भाव अथवा
सोझोपना । हाम्रो समाजले जसलाई सोझो अथवा जेलाई सोझोपना भन्छ वास्तवमा त्यो धेरै
हदसम्म सदाचारयुक्त गुण हो । तर कसैको निहित स्वार्थपूर्तिमा आफूलाई समर्पण गर्ने
सम्मको निरीहता रहनु भएन । जसलाई बाठो अथवा जेलाई बाठोपना भनिन्छ त्योभन्दा सोझोपना
व्यवहारमा धेरै नै उत्तम गुणका रुपमा रहेको देखिन्छ । सदाचार र नैतिकतालाई एउटै
अर्थमा समेत प्रयोग गर्न सकिन्छ ।
विश्वलाई विकास दिने हामी हौं तर आफैं अल्पविकसित छौं । यी दुवै
परिप्रेक्ष्यमा हामीले सदाचार र नैतिकताका विषयमा अझ बढी बहस र आत्मसातीकरण गर्न
जरुरी छ । विश्वलाई विकासका लागि सदाचारयुक्त जीवनपद्धति अवलम्बन गर्न सिकाउने
दर्शनको प्रादुर्भाव आजभन्दा ६/७ हजार वर्ष पहिलादेखि हाम्रै भूमिबाट हुँदै आएको
हो । तर आफैले प्रादुर्भाव गरेको पद्धतिबाट हामी भने विमुख हुँदै गएका छौं । अर्कोतिर,
विश्वव्यापी रुपमै अल्पविकसित मुलुकहरुमा सदाचारको पाटो क्षयीकृत अवस्थामा रहेको
देख्न सकिन्छ र हाम्रोमा पनि त्यही अवस्था छ । हामीकहाँ राजनीतिका राजकाजहरुमा,
प्रशासनका परिकल्पनाहरुमा, उद्योग व्यवशायका विवशताहरुमा र आममान्छेका दयनीयतामा
यत्रतत्र सदाचार विसर्जन हुँदै गएको छ ।
सदाचारको विसर्जन हुँदै गर्दा एउटा प्रश्न सिर्जना गर्न सकिन्छ अब सदाचार र
नैतिकता कहाँबाट ल्याउने? वास्तवमा सदाचार र नैतिकता कुनै वस्तु होइन् जो कहीँबाट
टपक्क टिपेर ल्याउन सकियोस् । फेरि मान्छे स्वभावैले लोभी प्राणी हो । लोभमा परी
उसले सदाचार र नैतिकता नै बिर्सिन्छ । हामीकहाँ पनि लेनदेनपूर्ण सम्बन्धहरु,
लोभलालच र विभिन्न स्वार्थ भावको विकासले गर्दा सदाचार क्षयीकृत हुँदै गएको छ र यसको
पुनर्जागरण त्यति सजिलो छैन । तथापि चुप बसेर हुँदैन । सदाचार र नैतिकता प्रवर्द्धनका
उपाय छन् र तिनलाई कारगर तरिकाले अवलम्बन गर्न सकिन्छ ।
आध्यात्मिक दर्शनहरुले मान्छेको लोभलालचलाई सामूहिक स्वार्थमा समर्पण गर्न तथा
विवेकी र सदाचारी बन्न अभिप्रेरित गरेका छन् । वेद, उपनिषद्, पुराण, त्रिपिटक, मुन्धुम
लगायतका पूर्वीय दर्शनमा निहित विचारहरु सदाचार र नैतिकताका अजस्र श्रोत हुन् ।
तिनलाई आत्मसात गर्नुपर्दछ बिर्सेर पुनर्जागरण हुँदैन ।
हामीले हाम्रा पितापुर्खातिर फर्केर जति पर पर हेर्छौं त्यति नै गर्वानुभूति
हुन्छ । हामी क्रमिक रुपमा सदाचार विमुख हुँदै आएका भए पनि हाम्रा पुर्खाहरु
सदाचारी थिए । यसबाट उल्लिखित प्रश्नको एउटा उपाय सुल्झिन्छ कि सदाचार र नैतिकता
हामीले हाम्रा पुर्खाबाट ल्याउन सक्ने रहेछौं ।
मान्छे जन्मिदा कोरा जन्मिन्छ भन्ने अवधारणा आंशिक सत्य हो । कुनै परिस्थितिको प्रभाव वा क्रमभंगताले अर्कै बनाउन सक्ने बाहेक सदाचारी वा दुराचारी मान्छे जन्मजातै हुन्छ । सामान्यतया सदाचारयुक्त समाजमा सदाचारी नै जन्म लिन्छन् । दुराचारी समाजमा दुराचारी जन्मिन्छन् । उद्योगी व्यवशायीको घरमा उद्योगी व्यवशायी जन्मिन्छ । राजनितिज्ञको घरमा राजनीतिज्ञ जन्मिन्छ । निष्ठाको राजनीति गर्ने व्यक्तिको अवकाश पछि आउने नेता निष्ठावान हुन्छ । ठालु नेताको ठाउँ अर्को ठालु नेताले लिन्छ । असल प्रशासकको उत्तराधिकारी असल नै हुन्छ । भ्रष्ट प्रशासकको ठाउँ लिन आउने प्रशासक भ्रष्ट हुने सम्भावना बढी हुन्छ । यी सबै कुरामा अवचेतन मनको सिद्धान्त, ब्रह्माण्डीय ऊर्जाको सिद्धान्त तथा सामाजिकीकरणको सिद्धान्त लागू हुन्छ ।
यसरी पितापुर्खा सदाचारी भएकाले हामी प्रायः सबै नेपाली जन्मिदा पुर्खाका
कृपाले सदाचारयुक्त गुण सहित जन्मिन्छौं । तर जन्मजात रुपमा प्राप्त गुणलाई मलजल र
गोडमेल गर्न नसक्दा संगत र प्रतिस्पर्धाको घनचक्करमा परेर समाजको प्रचलनमा मिसिन
पुग्दछौं । त्यसैले जन्मजात रुपमा प्राप्त सदाचारयुक्त गुणलाई चिन्ने र मलजल गरी
अझ उन्नत बनाउनेतर्फ हामी लाग्नु पर्दछ । यसका लागि जन्मजात प्राप्त सदाचारयुक्त
गुणबाट विमुख नभएको व्यक्तिलाई बढी भूमिका दिनुपर्दछ । परिवार, समाज र राज्यको नेतृत्वदायी
भूमिका निर्वाह यस्ता व्यक्तिबाट गरिनुपर्दछ । समयको भँगालोमा परी सदाचारबाट विमुख
भएका व्यक्तिले समेत यसबाट प्रोत्साहन प्राप्त गरी आफूलाई सुधार्ने मौका पाउनेछन्
।
सदाचार र नैतिकताको गुण बढाउने अर्को उपाय प्रभावकारी सामाजिकीकरण हो । यो
दोस्रो उपाय हो । जन्मजात गुणलाई चिनेर व्यवहार गर्नेभन्दा यो कम कारगर उपाय हो । तथापि
अल्पविकसित समाजमा यसको प्रयोग सार्थक हुने देखिन्छ । यसका औपचारिक र अनौपचारिक
लगायतका विभिन्न माध्यम हुन्छन् । अवधारणा र बुझाइको विकासमा औपचारिक माध्यमको
भूमिका सशक्त हुन्छ । तर सदाचारयुक्त जीवनपद्धतिको निर्माणमा भने अनौपचारिक
माध्यमले बढि हस्तक्षेप गर्दछन् । स्कूलको शिक्षा, सार्वजनिक प्रशिक्षण, तालिम,
अभियान तथा गोष्ठी आदि औपचारिक उपाय हुन् । तर घरपरिवारबाट दिइने दिक्षा,
साथीसंगतिसँगको अन्तर्क्रिया, छलफल, बहस, तर्कवितर्क, उठबस, प्रोत्साहन, सामाजिक
कृत्यहरु र तिनमा हुने सहभागिता, बोलीचाली, भेषभुषा, रहनसहन आदिले मान्छेलाई पूर्णतया परिवर्तन गर्ने सामर्थ्य
राख्दछन् ।
सदाचार र नैतिकता प्रवर्द्धन गर्ने अन्तिम उपाय दण्डात्मक उपाय हो । यसलाई
भयको औजार भनिन्छ । दण्डको डरले मान्छेले अपराध गर्दैन भन्ने मान्यता भए पनि यसले
मूलतः खराब आचरणका कारण भएको हानीको क्षतिपूर्ति मात्रै गर्दछ । वर्तमान सभ्य
समाजमा यसले खासै प्रभाव राख्न सकेको देखिदैन । हाम्रो परिप्रेक्ष्यमा समेत यो
उपाय त्यति कारगर भएको छैन ।
हामी सदाचारलाई बहुधा पैसासँग जोडेर हेर्ने गर्दछौं । हाम्रा कानुन र निकायहरु
मौद्रिक नियन्त्रण र मौद्रिक अपचलनको अनुसन्धानमा केन्द्रित गरिएका छन् र त्यसैलाई
सदाचार प्रवर्द्धनको केन्द्रीय कर्म मानिएको छ । व्यक्ति, समाज र राज्यका आर्थिक
बाहेकका अन्य तमाम जीवनमा सदाचारयुक्त पद्धति खस्किँदो अवस्थामा छ । राम्रा घोषणा
तथा वाचा गरी जनमत लिएर आएको जनप्रतिनिधिले बोलेका कुरा पुर्याएको छैन । निष्पक्ष,
इमान्दार र निष्ठापूर्वक सार्वजनिक सेवा दिने कसम खाएर आएको सेवाप्रदायकले गाउँ
छिर्न अप्ठेरो मानिरहेको छ । एक उद्योग व्यवशायले अर्को उद्योग व्यवशायको तरक्कीमा
इर्ष्या गर्दैछ । आम मान्छेलाई आम मान्छेले कसैले गलत तरिकाले प्राप्त गरेको पद र
पैसाको महिमा सुनाउँदैछ । सामाजिक क्षेत्रमा समाजको चिन्तन कम छ । जातजाति,
क्षेत्र, लिङ्ग, भाषा आदिका आधारमा आत्मियता र परायाको सम्बन्ध निर्माण गरिदैछ ।
मूलतः सदाचारयुक्त जीवन पद्धतिको अवलम्बनका आधारभूत बाधकका रुपमा यी विषय रहेका
देखिन्छन् ।
यी सबै विषयको निरुपणका लागि माथि भनिए जस्तै मूलतः असल आचरण भएका व्यक्तिलाई
राजनीतिक, प्रशासनिक, आर्थिक तथा सामाजिक क्षेत्रमा प्रोत्साहन गर्नुपर्दछ ।
दोस्रोमा सदाचारबाट विमुख भएका वा हुँदै गरेका व्यक्तिका लागि तथा जन्मजात प्राप्त
गुणको उन्नयनका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरु सार्वजनिक, निजी र सामुदायिक
क्षेत्रबाट सञ्चालन गर्नुका साथै घरपरिवारबाटै सद् व्यवहारको दीक्षा दिनु पर्दछ ।
अन्तिम उपायका रुपमा अत्यावश्यक देखिएको खण्डमा दण्डात्मक उपायहरुलाई समेत
सम्बन्धित निकायको क्षमतालाई प्रभावकारी बनाइ अवलम्बन गर्न सकिन्छ । तथापि आचरणको
विषय हृदयको स्वच्छतासँग जोडिने विषय भएकाले कडा कानुन वा आचरणका नियमहरुले मात्रै
काम गर्दैन यो कुरा सम्बद्ध सबै पक्षले विचार गर्नु जरुरी देखिन्छ ।