प्रश्न नं.१ः- शासनको
अवधारणा स्पष्ट गर्दै यसका आधारभूत पक्ष तथा विशेषताहरु उल्लेख गर्नुहोस् । (५+५=१०)
शासनको
अवधारणा
शासन
राज्य सञ्चालन गर्ने प्रणाली हो । परम्परागत रुपमा नागरिकलाई नियन्त्रण गर्ने,
कर उठाउने र सुरक्षा गर्ने कार्यमा संलग्न सरकारहरुलाई नै शासन भनिन्थ्यो ।
लोकतन्त्रको विकास र लोककल्याणकारी राज्यको अवधारणाको विकास सँगै वर्तमानमा राज्य
सञ्चालनमा सहभागी हुने सरकारी र गैरसरकारी सबै पक्षहरुले जनतालाई सेवा दिनु,
विकासका लाभहरु उपलब्ध गराउनु तथा लोकतान्त्रिक अधिकारहरुलाई स्थापित गर्नुलाई
शासन भनिन्छ ।
विश्वमा
राज्यको उत्पत्तिसँगै सो सञ्चालन गर्न शासनको आवश्यकता महसुश हुन थालेको हो । प्रारम्भमा
शासकहरुले आफु अनुकूल जनतामाथि शासन गर्दथे । प्राचीनकालमा पूर्वमा मनु र
कौटिल्यका विचारहरुले तथा पश्चिममा प्लेटो र अरिस्टोटलका विचारहरुले आदर्श शासनको परिकल्पना
गरेका थिए । सन् १२१५ को म्याग्नाकार्टाले आधुनिक शासन प्रणालीको अवधारणालाई औपचारिक
रुपमा परिभाषित गर्यो र जनताका प्रतिनिधिले शासन गर्नुपर्छ भन्ने मान्यता स्थापित
गर्यो । बेलायतमा सन् १६२८ मा पारित भएको संसदको अधिकार पत्र र १६८९ मा पारित भएको
अधिकारको घोषणापत्र (Bill of Rights) ले शासकको
चाहनाबमोजिम नभई जनताको इच्छा अनुसार शासन सञ्चालन हुनुपर्छ भन्ने मान्यता स्थापित
गर्यो । सन् १७४८ मा मन्टेस्क्युले ल्याएको शक्ति पृथकीकरणको सिद्धान्त र जोन
एडम्सको शक्ति सन्तुलनको सिद्धान्तले शासन सञ्चालनमा सहभागी हुने अंगहरुका बिच
शक्ति बाँडफाँड हुनु पर्ने र एक अंगले अर्को अंगलाई स्वेच्छाचारी हुन नदिन सन्तुलनमा
राख्ने व्यवस्था हुनपर्ने पक्षमा वकालत गर्यो ।
सन्
१७८७ मा अमेरिकामा संविधान निर्माण भई संविधानका आधारमा शासन सञ्चालन गर्ने
परम्परा विकसित भयो । हाल अधिकांश देशहरुले संविधानमा नै शासनको स्वरुप,
सरकारको शक्ति र सीमा तथा नागरिकका अधिकारहरुलाई व्यवस्थित गरेका छन् । बिसौं
शताब्दीमा आइपुग्दा विभिन्न विश्वव्यापी तथा क्षेत्रीय संस्थाहरुको उदय
भई तिनले शासनका आधारभूत पक्षमा प्रभाव पार्न थालेको पाइन्छ । नागरिकलाई
अधिकारसम्पन्न बनाउने दिशामा मानव अधिकारको विश्वव्यापी घोषणापत्र (१९४८)
महत्त्वपूर्ण दस्तावेज मानिन्छ । हाल आएर
सूचना प्रविधिको विकास, बहु राष्ट्रिय शासन र निजी क्षेत्रको विकास समेतका कारण
नागरिकलाई छिटो छरितो र प्रभावकारी सेवा दिनु, मानव अधिकारको संरक्षण गर्नु तथा आर्थिक,
सामाजिक तथा मानवीय विकासका साथै नागरिकलाई सामजिक सुरक्षा प्रदान गर्नु शासनको
प्रमुख दायित्व बन्न पुगेको छ । विश्वमा विभिन्न थरी शासनका स्वरुपहरु प्रचलनमा
रहे पनि लोकतान्त्रिक पद्धति नै सबै शासनको मूल पद्धति बन्न पुगेको छ ।
शासनका
आधारभूत पक्ष तथा विशेषताहरु
संविधान,
कानुन र प्रणाली अनुरुप सञ्चालन हुन, नागरिक सर्वोच्चता कायम हुनु, वैधता प्राप्त
हुनु र लोकतान्त्रिक पद्धतिमा आधारित हुनु शासनका आधारभूत पक्षहरु हुन् । यसका
अतिरिक्त शासनका आधारभूत पक्षहरुमा शासन गर्ने क्षमता हुनु, राज्यका सबै अंग
क्रियाशील हुनु, सामाजिक
उत्तरदायित्व वहन गर्नु, बहुपक्षीय समन्वय र बाह्य सम्बन्ध (Foreign
relation) राम्रो हुनु र नागरिकलाई
शासनको लाभ पुग्ने प्रणाली हुनु आदि उल्लेखनीय छन् ।
विश्वमा लोकतान्त्रिक,
कम्युनिष्ट, सैन्य तथा निरङ्कूश शासन प्रणालीहरु प्रचलनमा
रहेका छन् । यी सबै प्रणालीहरुका कतिपय विशेषताहरु अमिल्दा देखिन्छन् । तथापि संविधानका
आधारमा सबै शासनको स्वरुप निर्धारण भएको हुन्छ । शासनसँग साधन र स्रोतको शक्ति हुन्छ
। यसको निश्चित उद्देश्य र दृष्टिकोण हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
सम्बन्ध हुन्छ । यससँग कानुनी शक्ति हुन्छ । सबै प्रकारका शासन सञ्चालनमा सरकारको
प्रमुख भुमिका रहन्छ ।
पछिल्लो समयमा सबै प्रकारको शासनहरुले लोकतान्त्रिक
पद्धतिलाई आत्मसात गरिराखेका छन् । लोकतन्त्रमा जनताका प्रतिनिधिबाट शासन सञ्चालन
हुन्छ । विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलन,
मानव अधिकारप्रति उच्च सम्मान, समावेशीकरणको प्रवर्द्धन, स्वतन्त्र
न्यायालय, प्रेस र अभिव्यक्ति स्वतन्त्रता,
संविधानवादमा आधारित संविधान, सरकारमा बहुपात्रको संलग्नता आदि लोकतान्त्रिक शासनका
आधारभूत विशेषताहरु हुन् । पारदर्शिता, उत्तरदायित्त्व,
सदाचार र नैतिकता वहनको अवस्थाले शासनको चरित्रलाई उजागर गर्ने भएकाले
भ्रष्टाचारमा शून्य सहनशीलता हुनु र आफ्ना नागरिकप्रति सम्पूर्ण रुपले जवाफदेही
हुनुलाई आधुनिक शासन प्रणालीको प्रमुख विशेषता मानिन्छ ।
समग्रमा भन्दा राज्य र नागरिकका बिचको सम्बन्ध
नै शासन हो । यो सरकार, गैर सरकारी संयन्त्र र अन्तर्राष्ट्रिय
सम्बन्धहरुका माध्यमबाट नागरिकलाई सेवा र सुरक्षा उपलब्ध गराउने पद्धति हो । प्राचीनकाल
देखि हालसम्म शासनको अवधारणा उन्नत
रुपमा विकसित र परिष्कृत हुँदै आएको छ । लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित
शासन नै वर्तमान शासन प्रणालीको प्रमुख विशेषता हो । जनतालाई शासनका लाभहरु उपलब्ध
गराउन सक्ने र नागरिकप्रति पूर्ण रुपले
जवाफदेही हुने शासन नै उत्तम शासन प्रणाली हो ।