Friday, June 18, 2021

निजामती सेवाप्रतिको जनअपेक्षा

निजामती सेवाप्रति जनताको अपेक्षाको कुरो गर्दा म विशुद्द जनता र राष्ट्रसेवकलाई मात्रै जोडेर हेर्दिन । त्यतिलाई मात्र जोडेर हेरियो भने त्यसले जनताको वास्तविक अपेक्षा र निजामती सेवकको वास्तविक दायित्वको सांगोपांगो उजागरण हुन्छ भन्ने मलाई लाग्दैन 

राज्यलाई सञ्चालन गर्ने विभिन्न अंगहरु हुन्छन् । परम्परागत दृष्टिकोणमा भुगोल, जनसंख्या, सरकार र सार्वभौमिकताबाट राज्य चलायमान हुन्छ । म भने राज्य सञ्चालनमा राजनीति, समाज र प्रशासनको महत्वपूर्ण भुमिका देख्दछु । यी तिनवटै पक्षको विश्लेषण गरेर मात्र निजामति सेवाप्रतिको जनअपेक्षाको विवेचना गर्नु उपयुक्त हुन्छ भन्ने मेरो निष्कर्ष रहेको छ ।

लोकतान्त्रिक गणतन्त्रकालमा आइपुगेपछि हामी नेपाली धारिला भएका छौं । दुई धारे तरबार जस्ता छौं । हामी हरेक क्षेत्रमा दुई ध्रुवमा उभिएका छौं । मैले माथि उल्लेख गरेका राजनीति, समाज र प्रशासन तीन वटै क्षेत्र दुइथरी प्रवृतिबाट चलायमान भएका छन् ।

राजनीति भनेको राज्य सञ्चालनको मियो हो । यसले सरकार गठन गर्छ । जनताका आकांक्षालाई अभिव्यक्त     गर्छ । ती आकांक्षाको परिपूर्तिका लागि नीति, नियम, कानून र कार्यक्रम निर्धारण गर्दछ । प्रशासनको मार्गबाट तिनलाई जनतासामु प्रतिफलका रुपमा पुर्याउने प्रयास गर्दछ । 

नेपालको राजनीतिलाई म दुई कोणबाट नियालीरहेको छु । एकथरी राजनीतिज्ञ प्रवृत्ति छ र अर्कोथरी राजनीतिकर्मी प्रवृत्ति । राजनीतिज्ञले राजनीतिलाई सेवा मान्दछ । उसले जनताको भावना, आवश्यकता र आकांक्षालाई समेटेर शासन सञ्चालन गर्ने प्रयास गर्दछ । यस्तो प्रवृत्ति सत्ता नजिक पुग्न धेरै नै संघर्ष गर्दछ । यसको विपरित राजनीतिकर्मीका लागि राजनीति पेशाभन्दा माथि उठ्न सकेको छैन । उसले आफ्ना आकांक्षा, आवश्यकता र चाहनालाई सन्तुष्ट गर्नबाट फुर्सद नपाएर होला जनताको आवश्यकता र भावनाको कदर गर्न सकेको हुँदैन । यस्तो गर्नुमा राजनीतिकर्मीको मात्र दोष छैन । त्यसमा विभिन्न तत्वले प्रभाव पारेको देखिन्छ । त्यो पछि स्पष्ट हुँदै जानेछ ।तथापि देखिएको के छ भने लामो समयसम्म सत्ता सञ्चालनको अनुभव हासिल गर्ने राजनीतिकर्मीले नै हो ।

आम जनता, पेशाकर्मी, व्यवशायी, प्रशासक, राजनीतिज्ञ सबै मिलेर समाज बनेको हुन्छ । यसमा धर्म, संस्कृति, रहनसहन, भाषा, भेषभुषा जस्ता विभिन्न तत्वहरु समाविष्ट हुन्छन् । तर यहाँ मैले समाज भनेर आम जनता, पत्रकार, व्यवशायी, समाजसेवी, नागरिक समाज आदिलाई भन्न खोजेको हुँ । समाजभित्रका यी विभिन्न घटकहरुमा पनि दुईखाले प्रवृत्ति देखिन्छन् । एकखाले प्रवृत्ति सदाचार, सेवाभाव र पेशागत निष्ठाको मर्यादा भित्र कायम रहेको छ । अर्को खाले प्रवृतिले लोभलालच, स्वार्थ, नातावाद, कृपावाद र आशिर्वादलाई बोकेर हिँडेको छ ।

समाजभित्रको महत्वपूर्ण घटकका रुपमा म आम जनतालाई लिन्छु ।  त्यसलाई म दुईथरी प्रवृत्तिमा विभक्त भएको देख्दछु । जनतामा एकथरी महाजन छन् । अर्कोथरी साधुजन छन् । राजनीति र प्रशासनसँग नजीकको सम्बन्ध गाँसेर महाजन बनेकाहरु गाउँ  सहरमा योजना तथा विकास कार्यक्रमहरु सञ्चालन गर्दछन् । ती कार्यक्रमहरु तिनीहरुकै नाममा जान्छन् । गाउँठाउँमा कुनै विवादहरु हुँदा तिनीहरुले मध्यस्थता गरी विवाद मिलाउँछन् । साधुजनहरुले स्थानीय तह वा जिल्ला स्तरबाट सेवा लिन जाँदा उनीहरुले नै सहजीकरण गरिदिने गर्दछन् । उनीहरुको जीविकोपार्जन गर्ने कुनै पेशा व्यवशाय दृष्टिगोचर हुँदैन तथापि तिनीहरुको जीवन गुणस्तरीय र प्रतिष्ठित तवरले चलिराखेको हुन्छ ।

साधुजनलाई म सर्व साधारण जनता मान्दछु । उनीहरु आर्थिक, सामाजिक, राजनीतिक तथा भौगोलिक रुपमा सीमांकित भएका छन् । यहाँ जातजाति, वर्ग, धर्म, लिंग, क्षेत्र, भाषा आदिका आधारमा साधुजनहरुको निर्धारण भएको छ । उनीहरुले साधारण कृषि कर्म, ज्यामी, सिकर्मी, डकर्मी, ज्याला मजदूरीको काम र अन्य पेशागत कामहरु गर्छन् । दिनभरि काम गरेर बेलुका छाक टार्न समेत उनीहरुलाई धौधौ पर्छ । उनीहरुलाई शासन सञ्चालनका जटिल प्रक्रियाहरुसँग वास्ता हुँदैन । उनीहरुले सामाजिक सुरक्षा भत्ता लिने प्रयोजनका लागि वा कुनै राहत सहायता लिने प्रयोजनका लागि वा कुनै शिक्षा हासिल गर्ने प्रयोजनका लागि नागरिकताको प्रमाणपत्र लिन जाँदा मात्र प्रशासनलाई चिन्दछन् । बढी नै बिरामी पर्दा स्थानीय स्वास्थ्यचौकी वा नजिकको अस्पतालमा जाँदा मात्र स्वास्थ्य प्रशासनसँग आत्म साक्षात्कार गर्दछन् । घरदैलोको सरकारका रुपमा रहेको स्थानीय तह वा वडा कार्यालयलाई समेत उनीहरुले कुनै आवश्यकता परी जन्म वा मृत्यु दर्ता गर्न जाँदा मात्र चिन्दछन् । निर्वाचनको बेला महाजनहरुको करकापबाट भोट हाल्न जाँदा मात्र उनले भोट पनि हाल्नु पर्ने रहेछ भन्ने थाहा पाउँछन् ।

प्रशासनलाई पनि मैले दुईथरी रुपमा अनुभव गरेको छु । एकथरी स्वयंसेवक र अर्कोथरी राष्ट्रसेवक । आफ्नो सेवालाई मात्रै हेर्ने भएकाले स्वयंसेवक भनेको हैन तर यस्तो प्रवृत्तिको प्रशासनले जनताको सेवाभन्दा आफ्नो सेवालाई प्राथमिकतामा चाँही राखेको हुन्छ । यिनीहरुका लागि जनमुखी प्रशासन, सुशासन, नयाँ सार्वजनिक सेवा फगत सिद्धान्त हुन्छन् । आफूलाई पायक पर्ने ठाउँमा मात्रै बसिरहन अनेक तिगडमहरु गर्ने, अत्यधिक लाभको आकांक्षा राख्ने, मन, वचन र कर्मले आफूलाई मालिक र जनतालाई दास ठान्ने प्रवृत्तिलाई म स्वयंसेवक प्रवृत्ति भन्दछु । स्वयंसेवक प्रवृत्तिसँग आकर्षण भई नसकेका कर्मचारीहरुलाई मैले राष्ट्रसेवक मान्दछु । यस्तो कर्मचारीहरुमा म साँच्चै जनताको सेवा गर्छु, राज्यले खटाएको जुनसुकै ठाउँमा खटिएर भए पनि काम गर्छु, मैले चाहेमा परिवर्तन सम्भव छ भन्ने भावना भित्रै देखि उमडिएर आएको हुन्छ । यस्ता राष्ट्रसेवकहरुका कारणले नेपालको प्रशासन संयन्त्र अद्यापि चलायमान भएको छ ।

राजनीति, समाज र प्रशासनका यी दुवै थरी प्रवृत्तिको मात्रात्मक चिरफार गरेर हेर्दा अचम्म लाग्न सक्छ । राजनीतिमा राजनीतिज्ञको तुलनामा राजनीतिकर्मीको संख्या बढी छ । प्रशासनमा उस्ता उस्तै वा राष्ट्रसेवकको पल्ला अलि भारि जस्तो महसुस हुन्छ । जनताको स्तरमा हेर्ने हो भने त महाजनको संख्या साधुजनको एक तिहाइ पनि पुग्दैन । तथापि साधुजनमाथि महाजनको राज देखिन्छ ।

अब म राजनीतिकर्मी, महाजन र स्वयंसेवक किन बन्छन् भन्ने विषयमा प्रवेश गर्न चाहन्छु । राजनीतिकर्मी बन्ने कारण के हुन् त भन्दा यसमा मूलतः चार वटा कारणहरु छन् । पहिलो कारण के हो भने हामी नेपालीहरुलाई खान, लाउन र बस्नमै समस्या छ । हामी त्यो भन्दा माथि उठ्न नसकेको कारणले राजनीतिमा लागेको मान्छेलाई पनि खान लाउन चाहिएको छ । खाने, लाउने र बस्ने आधारभूत कुरा पूर्ति गर्ने अभिलाषै अभिलाषामा उ कतिखेर राजनीतिकर्मी बन्छ पत्तै हुँदैन । राजनीतिज्ञलाई किन चाहिएन त भन्नु होला । उसलाई खान लाउन पुगेको हुन्छ वा थोरैले पुग्छ वा कसैको प्रवृति नै सन्त हुन्छ । दोश्रो राजनीतिकर्मीलाई सत्तामा पुर्याउने कार्य महाजनहरुबाट हुन्छ । उनीहरुले समाजमा साधुजनलाई समेत प्रलोभनमा पारेर राजनीतिकर्मीलाई सत्तामा पुर्याइदिन्छन् । त्यसैले महाजनहरुलाई रिझाइराख्नका लागि पनि राजनीतिकर्मी बन्नु पर्छ । तेश्रो महंगो चुनावी खर्चको चपेटामा परेर व्यक्ति राजनीतिकर्मी बन्दछ र चौथो स्वयंसेवक प्रशासकले नै कतिपयलाई राजनीतिकर्मी बनाइदिन्छन् ।

समाजमा केही मान्छे महाजन किन बन्छन् ? माथि पनि भने मैले । यस्ता व्यक्तिहरुको कुनै पेशा, व्यवशाय नभइकनै उन्नत जीवनचर्या चलिराखेको देखिन्छ । हो, त्यही जीवनचर्या चलाउने पैसा कमाउनका लागि नै मान्छे महाजन बन्दछन् । सामान्यतया कुनै शारीरिक वा बौद्धिक परिश्रम विना नै जीवन र घर गृहस्थी चलाउन सकिन्छ भने किन महाजन नबन्ने भन्ने यिनीहरुको सोँच हुन्छ ।

प्रशासनमा व्यक्ति किन स्वयंसेवक बन्छ भन्दा यसका तमाम कारणहरु दृष्टिगोचर हुन्छन् ।  मूलतः हाम्रो प्रशासन परम्परावादी छ । राणाकालदेखि नै यो चाकरी प्रथामा आधारित भएर आयो । हाकिम र कारिन्दा प्रवृत्तिबाट दिक्षित हुँदै आयो । अझ राजा, महाराजा, शासक, प्रशासकले दुनियाँलाई रैति देख्ने अवधारणाबाट प्रशिक्षित हुँदै आयो । मानवशास्त्रको सिद्धान्तले के भन्छ त भने पुर्खाका विश्वासहरु हाम्रा अवचेतनमा गडेर बसेका हुन्छन् । परिस्थितिजन्य अवस्थामा ती विश्वासहरु पुनः उजागर हुन्छन् । यसै कारणले प्रशासनमा पुर्खाका अवशेषका रुपमा स्वयंसेवक प्रवृत्ति विद्यमान रहेको देखिन्छ । दोश्रो महत्वपूर्ण कारण के रहेछ भने निजामति सेवकले राजनीतिकर्मीको आशय पूर्तिको माध्यम बनिदिनु पर्ने बाध्यता आइपर्दो रहेछ । यस्तो नहुँदा वृत्ति विकासमा असर पर्ने वा अवकाशपछि एकान्तवास बस्नु पर्ने अवस्था सिर्जना हुन सक्ने रहेछ । तेश्रो समाजमा देखा परेको दौडले मान्छेलाई दगुर्न बाध्य पार्दो रहेछ । हिन्दी सिनेमा 'थ्री इडियटस्' मा भएको जिन्दगी एक रेस है, तेज नहीँ भागोगे तो लोग तुम्हें कुचल कर आगे निकल जायेंगे भन्ने डायलग यिनीहरुमा लागू हुन्छ । भौतिक सम्पत्ति, बालबच्चाको शिक्षा दिक्षा, जीवनस्तर आदिको प्रतिस्पर्धाले गर्दा समाजका अरु व्यक्ति सरह वा आफनै सहकर्मीहरु सरह बन्न पनि स्वयंसेवक प्रवृत्ति अँगाल्नु पर्ने रहेछ । अर्को व्यक्तिगत सहजता र न्यून वेतन लगायतका कारणले पनि प्रशासकले स्वयंसेवक बन्नु पर्ने अवस्था सिर्जना हुने रहेछ ।

राजनीति, प्रशासन र जनताका यी छ थरी प्रवृत्तिहरु रहेको अवस्थामा एकको अर्कोप्रतिको अपेक्षा पनि प्रवृत्ति सापेक्षित हुन्छ । राजनीतिज्ञ चाहन्छ निजामती सेवाले आफ्ना नीतिहरुका माध्यमबाट जनतालाई छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गरोस् । राजनीतिकर्मीले भने प्रशासनलाई आफ्नो चाकरी गर्ने संयन्त्रका रुपमा विकसित गर्न चाहन्छ । विधि, पद्धति र प्रक्रिया त्यति मायने राख्दैन आफनो नजिकको समूहलाई लाभ पुग्ने गरी सेवा प्रवाह होस् भन्ने चाहना हुन्छ । महाजनको अपेक्षा के हुन्छ भने म सेवा लिन जाँदा आवश्यक प्रक्रिया नपुगेको भए पनि छिटो सेवा प्राप्त होस् । म फलानोको मान्छे भनेर भयको वातावरण बनाएर सेवा लिन सकियोस् । अझ यो भन्दा बढ्ता राजनीतिकर्मीको भनसूनका आधारमा मलाई घरमै सेवा आइदेओस् । साधुजनको अपेक्षा हुन्छ सेवा प्रवाहमा विलम्ब होस् तर कम्तीमा सेवा प्रदायकले झर्को नमानी मसँग बात गरिदेओस्, एकचोटी मुसुक्क मुस्काइदेओस् । कम्तीमा मलाई पनि मान्छे त गनिदेओस् ।

एक सेवाग्राहीको दृष्टिकोणबाट मेरो अपेक्षा के छ भने पहिला त सबै राजनीतिकर्मी राजनीतिज्ञ बनून् । यसबाट सत्ताप्राप्तिका मार्गमा कहिले अवरोध आउला त कुन ठुलो कुरो हुन्छ र? भगवान श्री कृष्णले गीतामा सुखदुखे समे भूत्वा लाभालाभौ जयाजयौ भनेकै छन् त । सबै राजनीतिज्ञ भएपछि सत्तामा जसले पुगे पनि आखिर जनताले सुख त पाउँछन् । सबैको प्रवृत्ति एउटै भए पछि सत्तामा पुग्ने विकल्प सबैका लागि उत्तिक्कै र बराबर मात्रामा खुला पनि रहन्छ । दोश्रो कुरा महाजनहरु साधु बनून् । साधुजनहरु क्षमतावान बनून् । यी दुवै कुरामा राजनीतिले उचित बाटो निर्धारण गरोस् । जनताका बिचमा विभेद नरहने अवस्था सबैभन्दा महत्वपूर्ण कुरा हो । यस्तो अवस्थाले मात्र समुन्नत समाज र राज्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

तर सजिलै यस्तो हुने सम्भावना देखिन्न । यसका लागि राजनीतिक तहमा वा जनताको तहमा हस्तक्षेप आवश्यक देखिन्छ । राजनीतिक तहमा यस्तो हस्तक्षेप पुस्तान्तरणबाट मात्र सम्भव छ । पुस्तान्तरणका लागि नयाँ पुस्ता जाग्नु आवश्यक देखिन्छ । अथवा समाज, प्रशासन सबै क्षेत्रको दबाबबाट मात्र यस्तो हस्तक्षेप सम्भव देखिन्छ । अथवा समयक्रमले यस्तो हस्तक्षेप गर्नेछ । जनताको तहमा हस्तक्षेप हुनका लागि चेतनाको स्तर उन्नत हुन आवश्यक देखिन्छ । चेतनाको स्तर उन्नत पार्नका लागि साधुजन कित्तामा रहेको जागरुक युवाहरु जाग्नु पर्दछ । उनीहरुले समग्र समाजलाई नै जागृत बनाउन सक्ने आँट र क्षमता राख्न सक्नु पर्दछ ।

उपरोक्त दुई वटा क्षेत्रमा ध्रुवीकरण हुने बितिक्कै निजामती सेवा आफैं स्वच्छ, सफा र निर्मल बन्छ । स्वयंसेवकहरु डराउनुपर्ने अवस्था आउँछ । उनीहरु या त बदलिनेछन् या पलायन हुनेछन् । लालबाबु पण्डितको सिँहदरबार बदल्ने संघर्ष ले त्यही बताउँछ । यस अवस्थामा राष्ट्रसेवकले गर्व गर्न पाउँछ । सबै कुरा सिस्टममा आधारित हुन्छ । त्यसपछि निजामति सेवा अवैयक्तिक हुन्छ । राजनीतिकर्मी, महाजन र स्वयंसेवक नरहेको अवस्थामा सेवा उन्नत हुन्छ । राष्ट्रसेवकले आफ्नो परिवारले प्राप्त गर्ने सेवाका लागि अतिरिक्त सोच्नु पर्दैन । आफ्ना लागि नसोच्नु पर्ने अवस्था हुनु नै अवैयक्तिकता हो । अझ यसभन्दा बढ्ता आफुलाई जगाउनु हो । जागृत बनाउनु हो । हालसालै एक जना मालपोत अधिकृत साथीले स्याङ्जा जिल्लाको मालपोत कार्यालयमा ल्याउँदै गरेको अवैयक्तिक जागरण उल्लेखनीय छ । समग्र राष्ट्रसेवकको जागरणबाट समेत राजनीति र समाजमा हस्तक्षेप गर्न सकिने सम्भावनालाई पनि नकार्न सकिन्न । तर यसका लागि अवैयक्तिक हुनु र जागृत हुनु आवश्यक देखिन्छ ।

नेपालमा सञ्चालनमा रहेका केही कार्यक्रमहरुमा प्रशासनको भूमिका सराहनीय छ । हिमाली जिल्लामा सुत्केरी उद्दारमा देखाइने तदारुकता, विपद उद्दारमा देखाइने तदारुकता, तराई मधेश समृद्धि कार्यक्रम, हिमाली क्षेत्र पूर्वाधार विकास कार्यक्रम, कर्णाली विकास कार्यक्रम लगायतका क्षेत्रीय कार्यक्रमहरुको कार्यान्वयनमा जनता आशावादी रहेका छन् । वि.सं. २०६२।०६३ साल पछि प्रशासन क्षेत्रमा व्यापक सुधारहरु गरिएको छ । समावेशीकरणको अभ्यासले किनारमा रहेका नागरिकहरुमा एक प्रकारको आशाको किरण जगाएको छ । पछिल्लो समयमा राज्यका हरेक क्षेत्रमा लैंगिक मूलप्रवाहीकरण हुँदै गएको छ । संघीय शासनका लाभहरुलाई जनतासमक्ष पुर्याउने गरी तीन वटै तहमा कर्मचारी समायोजनको काम सम्पन्न भएको छ ।  जनमुखी सेवाका लागि नागरिक वडापत्र, विद्युतीय सेवा प्रणाली, घुम्ती सेवा प्रणाली लगायतका सेवा प्रवाहका विभिन्न औजारहरु प्रयोगमा ल्याइएका छन् । सार्वजनिक पूर्वाधारहरुलाई अपांगतामैत्री तथा बालबालिकामैत्री बनाउने प्रयासहरु भएका छन् । सेवाग्राहीलाई छिटो सेवा दिने उद्देश्यका साथ कार्य प्रक्रियालाई सरलीकरण गरिएको छ । यी सबै कुराहरु हुँदाहुँदै पनि राजनीतिकर्मी, महाजन र स्वयंसेवक प्रवृत्तिका कारण आम साधुजनले यी विभिन्न सुधारका उपायहरुबाट त्यति धेरै लाभ लिन सकेका छैनन् । उनीहरुले लाभ लिनका लागि एक प्रकारको क्रमभंगता नै आवश्यक रहेको छ भन्ने मेरो धारणा रहेको छ ।

एक जना कृषि अभियन्ता जीवन प्रसाद राईले देश किन बनेन? लेखेका छन् । राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रका विसंगति र कृषि क्षेत्रको उपेक्षाका कारण देश नबनेको उनको ठहर छ । लेखकलाई समर्थन गर्दै म देश नबन्नुमा राजनीतिकर्मी, महाजन र स्वयंसेवक तीन कारण देख्दछु । जनतालाई सडक, खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्य चाहिएको छ । तर पुगीराखेको छैन किन? मेरो गाउँमा पछिल्लो दश वर्षमा खानेपानीका २० भन्दा बढ्ता योजना सञ्चालन भए तर पानीको अझै हाहाकार छ किन? ५ वर्ष पहिला सुरु गरिएको मेरो छिमेकी गाउँसम्म पिच सडक पुर्याउने योजना ट्रयाक नै नपुर्याई सकियो किन? कारण के छ त भन्दा यी सबै कार्यक्रमहरु महाजनहरुले नै सञ्चालन गरेका रहेछन् । राजनीतिकर्मीले उनीहरुलाई नै काममा लगाएका रहेछन् । यी योजना कार्यान्वयन गर्ने कार्यालयमा स्वयंसेवक नै हाकिम हुनुपर्ने अवस्था सिर्जना गरिने रहेछ । कथं कदाचित राष्ट्रसेवकले त्यस्ता कार्यक्रम कार्यान्वयन गर्नु पर्ने अवस्थामा विभिन्न तिगडमहरु सिर्जना गरेर मनोबल खस्काइएको रहेछ । कतिपय ठाउँमा हातखुट्टा भाँचिदिएको रहेछ । झापड लगाइदिइएको रहेछ । कालोमोसो दलिएको रहेछ । आदि आदि ।

यी कुराहरुबाट अब एउटा कुरा चाहीँ प्रष्ट भएको छ । साथमा जनता हुनेहरुले विचार गर्नु पर्ने बेला आइ सकेको छ । महाजनहरुलाई सुविधाको भारि अब बढ्ता भईसक्यो । विस्फोट हुने अवस्थासम्म पुग्न लागि सक्यो ।  साधुजनका सादगीपूर्ण, सकशपुर्ण र अभावयुक्त जीवनतर्फ समेत नजर लगाइयोस् । सधैंभरि किनारीकृत भएर बाँच्न चाहन्न मान्छे । कहिलेकाहीँ त मूल भंगालोमा तैरिने चाहना हुन्छ उसलाई पनि । विकासका नाममा जाने श्रोतहरु सिँहदरबारबाट अगोचर भएका छन् । लक्षित वर्ग, क्षेत्र र समूहका व्यक्ति त्यसबाट लाभान्वित भए नभएको हेर्ने तेश्रो आँखा विकास गरौं । स्थानीय र प्रदेश स्तरमा रहेका सरकारहरुबाट श्रोत विभाजनमा झन बढी विभेद र अन्याय हुने खतरालाई नजरअन्दाज नगरौं । शासन संयन्त्र र प्रशासन तन्त्रमा रहेका छिद्रहरु टालौं । बरु राष्ट्रसेवकका लागि गैर मौद्रिक सुविधाहरुमा बढोत्तरी गरौं । विश्वको इतिहासलाई हेर्दा जनताको शक्तिले सरकारलाई सीमित तुल्याइदिएको हो । हाम्रोमा भने असीमितताको आकांक्षा किन? स्थानीय स्तरमा खानेपानी, विजुली, शिक्षा, स्वास्थ्यका आधारभूत समस्याहरु विद्यमान छन् । तर स्थानीय सरकारहरु आर्थिक सहायता, भ्रमण र भोजभतेरमा बेफजूल खर्च गर्दैछनु । अब सोच्ने बेला आयो । बाढी र विपदका कति घटना हामीले बेहोरिसक्यौं । हाम्रो विकासे पद्धतिले अझैं कति दुर्घटना निम्त्याउने हो पत्तो छैन । सबै कुरा बदल्न सकिएला तर जीवनलाई फेरि फर्काएर ल्याउन सकिएला र?

हातमा कलम हुनेहरुले विचार गर्नु पर्ने भएको छ । कलमभित्रको मसी जनताको रगतको तरलता हो । त्यो मसीभित्र जनताको संवेदना बगीरहेको छ । जति जति कलम ढिलो चल्छ । त्यति त्यति जनताको मुटुको चाल ढिलो हुन्छ । जति जति कलमले गलत अक्षरहरु कोर्छ । त्यति त्यति जनतालाई अभावले पिरोल्छ । लोभ र लालचमा कयौं पल्ट हामीले कलम नै रोकेका छौं । त्यतिबेला जनताको श्वास नै रोकिएको छ । जनताले दिएको गाँसले हाम्रो सास चलिरहेको बेला एकचोटी सोचौं त जनताको श्वास बन्द भए के होला?

जनता धेरै केही चाहदैनन् । उनीहरु त प्रशासनको एक चिम्टी मुस्कानका भोका छन् । सुख, शान्ति र अमनचयनले बाँच्न चाहन्छन् । सेवा लिनका लागि घण्टौं सम्म लाईन बसेर बेलुका सेवा नलिई कुनै दुर्भावना नराखी फर्कने जनता पनि हामीले देखेका छौं । २०७२ सालको भुकम्प पछि महिनौं दिनसम्म पनि त्रिपाल मुनी रात बिताएर परिस्थितिलाई सहीदिने तिनै जनता होइनन्? कोरोनाको कहरका बिच आफ्नो पेशा व्यवशाय चौपट पारेर तीन तीन महिनासम्म लकडाउन पचाइदिने पनि जनता होइनन्? दाउरामा खाना पकाएर हाँसी हाँसी नाकाबन्दी सहीदिने पनि जनता होइनन्? जनताले यति सहयोग गर्दा बदलामा हामी के दिइराखेका छौं? एक जना चेली बलात्कृत भएर बिभत्स हत्या हुँदा हत्यारालाई खोज्न सक्दैनौ हामी । कार्यालय उठ्नै लाग्दा पुगेका एक जना ज्येष्ठ नागरिकलाई सेवा लिन भोलि आउनु भनेर फर्काउँछौं हामी । बेलैमा गुणस्तरीय उपचार, बेलैमा विभिन्न परिचयपत्रसम्बन्धी सेवाहरु, बेलैमा मौद्रिक तथा गैरमौद्रिक सुविधाहरु दिन सक्दैनौ हामी । विद्या ददाति विनयं बुद्धिजिवी विनयशील हुन्छन् । तर सेवाग्राहीले हाम्रो प्रशासनमा विनयशीलता पाउँदैनौं भन्छन् भने त्यो भन्दा ठुलो विडम्बना के होला?

हामीले निजामति सेवालाई सदाचार र नैतिकताको मामिलामा सम्झौता नगर्ने बनाउनु छ । अध्यात्मिकताको भावना र सेवाको भावनामा खरो उत्रिने बनाउनु छ । विशेषज्ञतामा आधारित, निश्चित कार्यविवरणमा आधारित बनाउनु छ । मेक्स बेबरको पालाको लालफित्ताशाही तन्त्रले जनतालाई दुःख भयो । अब त टलक्क टल्किने, पारदर्शी सेतो फित्तावाला बनाउनु छ । जनताका भावना र आकांक्षाको प्रतिबिम्बन हाम्रो प्रशासनमा देखियोस् । प्रशासकसँग जनताले त्रसित हुनु नपरोस् । न कश्चित् कस्य चिन्मित्रं न कश्चित् कस्य चिद्रिपु । व्यवहारेण मित्रोऽपि जायते रिपवस्तथा ।। वास्तवमा न कोही कसैको मित्र हुन्छ न त शत्रु नै । व्यवहारले मात्र कोही कसैको मित्र र शत्रु हुने गर्दछ । अतः प्रशासनले जनतालाई मित्रवत् व्यवहार गर्न किन चुक्ने ?

अब म निष्कर्षतिर आउँदैछु । निष्कर्षमा पुग्दा म इतिहासलाई नियालीरहेछु । जनता सधैंभरि त्रसित भई बाँचेछन् । सुरुमा किराँत, लिच्छवि र मल्लराजको त्रासमा बाँचे । त्यतिबेला जनताले गुमाएको स्वाभिमानको प्रतिफल स्वरुप काठ, धातु र ढुंगामा कुँदिएका सजीव चित्रहरु हामीले उपहार पायौं । ती अहिले बनाउनु परे हामी सक्दैनौं । शाहराजको त्रासमा बाँच्दा हामीले धरहरा, वसन्तपुर र नौतले दरबारहरु पायौं । ती अमूल्य छन् । राणाकालको त्रासले हामीलाई नामी कलेज, अस्पत्ताल र सिँहदरबारहरु दियो । त्यही बसेर हामी पढ्दैछौं, उपचार गर्दैछौं र  शासन गर्दैछौं । पञ्चायत कालमा हामी त्रसित थियौं । तर हामीले महेन्द्र, अरनिको, पृथ्वी र सिद्धार्थ राजमार्गहरु पायौं । तिनै मार्गहरुले हामीलाई निरंकूश शासन फाल्न आन्दोलन गर्ने थलो प्रदान गरे । बहुदलकालमा हामी कम्ता त्रसित थियौं तर हामीले पाउने कुराहरु पनि कम्ता हुँदै गए । हामी अहिले लोकतान्त्रिक गणतन्त्रकालमा छौं । कालिदास रचित 'अभिज्ञानशाकुन्तलम' मा दुष्यन्त टाढा हुँदा शकुन्तलाले तव न जाने हृदयं मम पुनः कामो दिवापि रात्रौऽपि । निर्घृण तपति बलीयस्त्वयी वृत्ति मनोरथान्यंगानी भनी विलाप गरेझैं जनताले विलाप गरिराखेका छन् । ए निर्दयीहरु हो तिमीहरुको हृदयका बारेमा हामीहरु जान्दैनौं । तर हाम्रा सम्पूर्ण अंगप्रत्यंगहरु तिमीहरुकै आश, भरोसा र कामना गरिराखेका छन् छिटै भेट देउ, सेवा देउ । त्यसैले जनताको पुकार सुनौं । यो गणतन्त्रकालमा समेत हामीले शासन, प्रशासन र समाजमा क्रमभंगता ल्याउन सकेनौं भने भावी पुस्ताका लागि हामीले कुनै उपहार नै नछोडी अलपिनेछौं । आफनो नामोनिशान मेटाएर । 

No comments:

Post a Comment

निजामती सेवाप्रतिको जनअपेक्षा

निजामती सेवाप्रति जनताको अपेक्षाको कुरो गर्दा म विशुद्द जनता र राष्ट्रसेवकलाई मात्रै जोडेर हेर्दिन । त्यतिलाई मात्र जोडेर हेरियो भने त्यसले ...