Wednesday, September 30, 2020

लोक सेवा आयोग शाखा अधिकृत द्वितीय पत्र विषयगत प्रश्नोत्तर

 

प्रश्न नं.१ः- शासनको अवधारणा स्पष्ट गर्दै यसका आधारभूत पक्ष तथा विशेषताहरु उल्लेख गर्नुहोस् । (५+५=१०)

शासनको अवधारणा

शासन राज्य सञ्चालन गर्ने प्रणाली हो । परम्परागत रुपमा नागरिकलाई नियन्त्रण गर्ने, कर उठाउने र सुरक्षा गर्ने कार्यमा संलग्न सरकारहरुलाई नै शासन भनिन्थ्यो । लोकतन्त्रको विकास र लोककल्याणकारी राज्यको अवधारणाको विकास सँगै वर्तमानमा राज्य सञ्चालनमा सहभागी हुने सरकारी र गैरसरकारी सबै पक्षहरुले जनतालाई सेवा दिनु, विकासका लाभहरु उपलब्ध गराउनु तथा लोकतान्त्रिक अधिकारहरुलाई स्थापित गर्नुलाई शासन भनिन्छ ।

विश्वमा राज्यको उत्पत्तिसँगै सो सञ्चालन गर्न शासनको आवश्यकता महसुश हुन थालेको हो । प्रारम्भमा शासकहरुले आफु अनुकूल जनतामाथि शासन गर्दथे । प्राचीनकालमा पूर्वमा मनु र कौटिल्यका विचारहरुले तथा पश्चिममा प्लेटो र अरिस्टोटलका विचारहरुले आदर्श शासनको परिकल्पना गरेका थिए । सन् १२१५ को म्याग्नाकार्टाले आधुनिक शासन प्रणालीको अवधारणालाई औपचारिक रुपमा परिभाषित गर्यो र जनताका प्रतिनिधिले शासन गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्यो । बेलायतमा सन् १६२८ मा पारित भएको संसदको अधिकार पत्र र १६८९ मा पारित भएको अधिकारको घोषणापत्र (Bill of Rights) ले शासकको चाहनाबमोजिम नभई जनताको इच्छा अनुसार शासन सञ्चालन हुनुपर्छ भन्ने मान्यता स्थापित गर्यो । सन् १७४८ मा मन्टेस्क्युले ल्याएको शक्ति पृथकीकरणको सिद्धान्त र जोन एडम्सको शक्ति सन्तुलनको सिद्धान्तले शासन सञ्चालनमा सहभागी हुने अंगहरुका बिच शक्ति बाँडफाँड हुनु पर्ने र एक अंगले अर्को अंगलाई स्वेच्छाचारी हुन नदिन सन्तुलनमा राख्ने व्यवस्था हुनपर्ने पक्षमा वकालत गर्यो ।

सन् १७८७ मा अमेरिकामा संविधान निर्माण भई संविधानका आधारमा शासन सञ्चालन गर्ने परम्परा विकसित भयो । हाल अधिकांश देशहरुले संविधानमा नै शासनको स्वरुप, सरकारको शक्ति र सीमा तथा नागरिकका अधिकारहरुलाई व्यवस्थित गरेका छन् । बिसौं शताब्दीमा आइपुग्दा विभिन्न विश्वव्यापी तथा क्षेत्रीय संस्थाहरुको उदय भई तिनले शासनका आधारभूत पक्षमा प्रभाव पार्न थालेको पाइन्छ । नागरिकलाई अधिकारसम्पन्न बनाउने दिशामा मानव अधिकारको विश्वव्यापी घोषणापत्र (१९४८) महत्त्वपूर्ण दस्तावेज मानिन्छ  । हाल आएर सूचना प्रविधिको विकास, बहु राष्ट्रिय शासन र निजी क्षेत्रको विकास समेतका कारण नागरिकलाई छिटो छरितो र प्रभावकारी सेवा दिनु, मानव अधिकारको संरक्षण गर्नु तथा आर्थिक, सामाजिक तथा मानवीय विकासका साथै नागरिकलाई सामजिक सुरक्षा प्रदान गर्नु शासनको प्रमुख दायित्व बन्न पुगेको छ । विश्वमा विभिन्न थरी शासनका स्वरुपहरु प्रचलनमा रहे पनि लोकतान्त्रिक पद्धति नै सबै शासनको मूल पद्धति बन्न पुगेको छ ।

शासनका आधारभूत पक्ष तथा विशेषताहरु

संविधान, कानुन र प्रणाली अनुरुप सञ्चालन हुन, नागरिक सर्वोच्चता कायम हुनु, वैधता प्राप्त हुनु र लोकतान्त्रिक पद्धतिमा आधारित हुनु शासनका आधारभूत पक्षहरु हुन् । यसका अतिरिक्त शासनका आधारभूत पक्षहरुमा शासन गर्ने क्षमता हुनु, राज्यका सबै अंग क्रियाशील हुनु, सामाजिक उत्तरदायित्व वहन गर्नु, बहुपक्षीय समन्वय  र बाह्य सम्बन्ध (Foreign relation) राम्रो हुनु र नागरिकलाई शासनको लाभ पुग्ने प्रणाली हुनु आदि उल्लेखनीय छन् ।

विश्वमा लोकतान्त्रिक, कम्युनिष्ट, सैन्य तथा निरङ्कूश शासन प्रणालीहरु प्रचलनमा रहेका छन् । यी सबै प्रणालीहरुका कतिपय विशेषताहरु अमिल्दा देखिन्छन् । तथापि संविधानका आधारमा सबै शासनको स्वरुप निर्धारण भएको हुन्छ । शासनसँग साधन र स्रोतको शक्ति हुन्छ । यसको निश्चित उद्देश्य र दृष्टिकोण हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध हुन्छ । यससँग कानुनी शक्ति हुन्छ । सबै प्रकारका शासन सञ्चालनमा सरकारको प्रमुख भुमिका रहन्छ ।

पछिल्लो समयमा सबै प्रकारको शासनहरुले लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरिराखेका छन् । लोकतन्त्रमा जनताका प्रतिनिधिबाट शासन सञ्चालन हुन्छ । विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलन, मानव अधिकारप्रति उच्च सम्मान, समावेशीकरणको प्रवर्द्धन, स्वतन्त्र न्यायालय, प्रेस र अभिव्यक्ति स्वतन्त्रता, संविधानवादमा आधारित संविधान, सरकारमा बहुपात्रको संलग्नता आदि लोकतान्त्रिक शासनका आधारभूत विशेषताहरु हुन् । पारदर्शिता, उत्तरदायित्त्व, सदाचार र नैतिकता वहनको अवस्थाले शासनको चरित्रलाई उजागर गर्ने भएकाले भ्रष्टाचारमा शून्य सहनशीलता हुनु र आफ्ना नागरिकप्रति सम्पूर्ण रुपले जवाफदेही हुनुलाई आधुनिक शासन प्रणालीको प्रमुख विशेषता मानिन्छ ।

समग्रमा भन्दा राज्य र नागरिकका बिचको सम्बन्ध नै शासन हो । यो सरकार, गैर सरकारी संयन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धहरुका माध्यमबाट नागरिकलाई सेवा र सुरक्षा उपलब्ध गराउने पद्धति हो । प्राचीनकाल देखि हालसम्म शासनको अवधारणा उन्नत रुपमा विकसित र परिष्कृत हुँदै आएको छ । लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन नै वर्तमान शासन प्रणालीको प्रमुख विशेषता हो । जनतालाई शासनका लाभहरु उपलब्ध गराउन सक्ने र  नागरिकप्रति पूर्ण रुपले जवाफदेही हुने शासन नै उत्तम शासन प्रणाली हो ।

No comments:

Post a Comment

निजामती सेवाप्रतिको जनअपेक्षा

निजामती सेवाप्रति जनताको अपेक्षाको कुरो गर्दा म विशुद्द जनता र राष्ट्रसेवकलाई मात्रै जोडेर हेर्दिन । त्यतिलाई मात्र जोडेर हेरियो भने त्यसले ...